इलाम र बझाङ उपनिर्बाचनको मतगणना आजबाट सुरु हुँदै



काठमाडौं।प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ को मतगणना आज बिहान ७ बजेदेखि सुरु हुने भएको छ । मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइ पुर्‍याउन समय लागेकाले आइतबार बिहान मात्रै मतगणना सुरु गर्न लागिएको हो ।​

सर्वदलीय बैठक गरेर गणना सुरु गर्ने तयारी छ । इलाम नगरपालिका-२ स्थित गौतमबुद्ध सम्मेलन केन्द्रमा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ ।

इलामका ७९ मतदान स्थलका १४९ वटै मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याइ पुर्‍याउन समय लागेकाले आइतबार बिहान मात्रै मतगणना सुरु गर्न लागिएको हो ।​

शनिबार मतदानमा इलाम–२ मा करिब ५८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो । इलाम–२ मा १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

उता,सबै ठाउँका मत पेटिका ल्याइसकेपछि बझाङमा पनि आज दिउँसोदेखि मतगणना शुरू हुने निर्बाचन कार्यालयले जनाएको छ।बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन् ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ हजार ७४८ मतदाता छन् । 

जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए । प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । 

प्रतिक्रिया दिनुहोस्