इलाममा ५७ प्रतिशतले गरे मतदान,मतगणना आज रातीबाटै सुरु गरिने



काठमाडौं। प्रतिनिधि सभा सदस्य चयनका लागि इलाम–२ मा भएको उपनिर्वाचनमा करिब ५७ प्रतिशत मत खसेको छ । आज (शनिबार) भएको निर्वाचनमा मतदान अवधिभर लगभग ५७ प्रतिशतले मतदान गरेका छन् ।

विहान ७ बजे सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो । इलाम–२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा मतदान भएको थियो ।

२०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएपछि रिक्त रहेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराइएको हो ।

प्रत्यक्ष निर्वाचित सांसद पद रिक्त भएमा उपनिर्वाचनबाट पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ । इलाम–२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा एमालेका सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

सबै केन्द्रहरुको मत पेटिका संकलनपश्चात आज रातिदेखि नै मतगणना सुरु गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्