उपनिर्बाचनका लागि इलाममा २ हजार ५७७ सुरक्षाकर्मी परिचालित,सेनाले हवाई गस्ती गर्ने



काठमाडौं । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि हुन लागेको उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नं २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

वैशाख १५ गते शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने उपनिर्वाचनका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

इलाम क्षेत्र नम्बर २ मा ४२ वटा वडामा मतदान हुनेछ । जसमा ७९ वटा मतदान स्थल, १४९ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् ।

इलाम प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ४२ वटा वडाहरु मतदान हुने र ७९ वटा मतदान स्थल र १४९ वटा मतदान केन्द्रहरुमा रहेको सबै स्थललाई सुरक्षाको वर्गीकरण गरेका गरिएको बताए । उनले सामान्य, संवेदनशील र अति संवेदनशील गरेर तीन स्तरमा वर्गीकरण गरिएको र ४९ वटा मतदान केन्द्र सामान्य, २१ वटा संवेदनशीलमा र १९ वटा अति संवेदनशीलमा रहेको बताए ।

उनले सामान्य मतदान स्थलमा न्युनतम ८ जना प्रहरी, संवेदनशीलमा ९, अतिसंवेदनशीलमा १२ जना र अन्य सुरक्षाका लागि पनि सुरक्षा गस्ती हुने बताए । नेपाल प्रहरी १३ सय ६३ जना, सशस्त्र प्रहरी बलतर्फ ७१० र नेपाली सेनाको ४८० जना र राष्ट्रिय अनुसन्धान विभागबाट २४ जना गरेर २ हजार ५७७ जना खटिएको बताए ।उनका अनुसार मतदान केन्द्रहरूको नेपाली सेनाको हवाइ गस्तीको प्रवन्ध पनि मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्