काठमाडौं आइपुगे कतारका अमीर शेख तमिम
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुईदिने राजकीय भ्रमणका लागि बंगलादेशबाट काठमाडौं आइपुगेका छन् ।

उनी फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण सकेर त्यहीँबाटै नेपाल आएका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतले स्वागत गरेका छन् ।
अमिरको राजकीय सम्मानका लागि नेपाली सेनाले २१ तोपको सलामी दिएको छ ।परराष्ट्र स्रोतका अनुसार राजा थानीको भ्रमणमा टोलीमा अमिरी दिवानका प्रमुख शेख साउद बिन अब्दुल रहमान अल्थानी, यातायात मन्त्री जसिम बिन सिफ अल सुलैती, उद्योग तथा वाणिज्य मन्त्री शेख मोहम्मद बिन हमाद बिन क्वासिम अल्थानी, सहायक विदेशमन्त्री सुल्तान बिन साद अल मुराखी र अमिरी दिवानका निर्देशक साद बिन नासिर अल कबी छन्।
त्यस्तै एसिया तथा अफ्रिका लगानी मामिला हेर्ने शेख फैसल बिन थानी अल्थानी, परराष्ट्र मन्त्रालयका एसिया मामिला हेर्ने निर्देशक युसुफ सुल्तान लारम, सुल्तान बिन घानिम अलोदिफी, अमिरी विभागका सहायक निर्देशक तलाल बिन अलाम्स अल सुलैती र राजाका प्रमुख स्वकीय सचिव मन्सुर फेलाह अल हाजिरी भ्रमण टोलीमा सहभागी छन्।

