थुलुङ दुधकोशीः राजस्व सुधार योजना सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा एक दिने राजस्व सुधार योजना सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको पालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो ।

प्रदेश अनुशन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आर्थिक सहयोग तथा थुलुङ दुधकोशी गाउँपालिकाको आयोजनामा सम्पन्न उक्त गोष्ठीमा पालिकाले हाल संकलन गरिरहेको राजस्वको अवस्था र यसमा सुधार गर्नुपर्ने विषयमा छलफल भएको छ ।करको दर र दायरा सम्बन्धि आवश्यक छलफल गरिएको प्रवक्ता कार्कीले बताउँनुभयो ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष असिम राईले विकसित राष्ट्रहरुमा आम्दानीको आधारमा कर तिर्न नागरिक उत्साहित हुनेगरेको भएपनि नेपाल जस्तो मुलकमा राज्यलाई कर तिर्न नागरिकले बोझको रुपमा लिनेगरेको बताउँनुभयो । नागरिकले बुझाएको करबाट देशमा बिकास हुने भन्दै अध्यक्ष राईले कर शिक्षाको खाँचो रहेको बताउँनुभयो ।

यसैबीच सोमबार नै गाउँपालिकामा लैंगिक समानता तथा सामाजिक समावेशिकरण मुलप्रवाहिकरण रणनीति निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।गाउँपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा सबै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, शाखाका कर्मचारी लगायतको उपस्थिति रहेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्