गोदावरीमा नेकपा एमालेको प्रतिनिधि परिषद बैठक सुरु



काठमाडौं।नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक ललितपुरको गोदावरीमा शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गर्नुभएको हो ।

परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र नीति र नेतृत्वमा कुनै विवाद नभएको दाबी गर्नुभयो । उहाँले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभएको छ । गएको महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी अहिलेको सहज परिस्थितिमा आएको उहाँले बताउनुभयो ।

गएको चुनावको बेला एमालेविरुद्ध घेराबन्दी गरिएको भन्दै अध्यक्ष ओलीले पार्टीले एक किसिमले युद्ध नै लडेर अहिले सहज अवस्थामा आएको बताउनुभयो । कांग्रेस कमजोर भइसकेको र नयाँ भनिएका शक्ति पनि गलत बाटोमा हिंडिरहेको उहाँको भनाई छ । उहाँले राजतन्त्रको वकालत गर्नेहरु पनि सफल नहुने जिकिर गर्नुभयो ।

बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार चार सय ५४ जना सहभागी रहेको एमालेले जनाएको छ ।बैठकमा सांगठनिक प्रतिवेदन अतिरिक्त सल्लाहकार परिषद्को प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, लेखा आयोगको प्रतिवेदन र निर्वाचन आयोगको प्रतिवेदन पेश भएका छन् । बैठक भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्