सोताङ गाउँपालिकाले नियतबश शिक्षकहरुको सरुवा गरेको भन्दै शिक्षक सम्बद्द संगठनहरुको आपत्ति



सोलुखुम्बु ।जिल्लाको सोताङ गाउँपालिकाले जथाभावी गरेको शिक्षक सरुवाप्रति नेपाल शिक्षक महासंघ र महासंघसंग आवद्ध विभिन्न संगठनहरुले तीब्र रोष प्रकट गरेका छन्।

गएको चैत १० गते बसेको कार्यपालिका बैठकले नियतबस र मनोमानी शिक्षक सरुवा गरेको भन्दै जिल्लामा क्रियाशील शिक्षक संगठनहरुले आईतवार बिज्ञप्ति प्रकाशित गरेर रोष प्रकट गरेका हुन्। जबर्जस्ती रूपमा शिक्षकहरुलाई दु:ख दिने नियतले गरिएको सो सरुवा तत्काल सच्याउनु पर्ने पनि उनीहरूको माग छ।

गाउँपालिकाले शिक्षकहरुलाई नियतवस रुपमा एक विद्यालयबाट अर्को विद्यालयमा पदस्थापन गर्ने गराउने र जवरजस्ती कामकाजमा जानु भन्ने दवावपूर्ण पत्र प्रेषित गरेको बिज्ञप्ति उल्लेख छ।

बिज्ञप्तिमा नेपाल शिक्षक महासंघका अध्यक्ष लालप्रसाद बास्तोला र सचिब कुमार राउत,नेपाल शिक्षक संघका अध्यक्ष मदनकुमार राई र सचिब प्रकाश थुलुङ राई,नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टंक दाहाल र सचिब नवराज राई,एकीकृत नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हस्तबहादुर राई र सचिब रोलकुमार बस्नेतले हस्ताक्षर गरेका छन्।

स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्ने बहानामा सय शिक्षा ऐनको बर्खिलाप गएर जथाभावी शिक्षक सरुवा नगर्न अन्य स्थानीय तहलाई पनि उनीहरू सचेत गराएका छन्।

प्रतिक्रिया दिनुहोस्