हिमाल दर्शन माबिद्वारा स्वर्ण जयन्ती मनाउन मूल आयोजक समिति गठन,शैक्षिक क्यालेन्डर पनि सार्बजनिक,



सोलुखुम्बु।नेचासल्यानस्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्रका लागि शैक्षिक क्यालेन्डर सार्बजनिक गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई र बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष बिना राईले सो क्यालेन्डर शुक्रबार सार्बजनिक गरेको विद्यालय ब्यबस्थापन समितिका सदस्य नवराज जमरकट्टेलले जानकारी दिए।

विद्यालयले सार्बजनिक गरेको क्यालेन्डरमा विद्यार्थीहरुले गाउँपालिका अध्यक्ष राईसंग भदौ १६ र उपाध्यक्ष राईसंग जेठ ६ गते शैक्षिक अन्तरक्रिया गर्ने कार्यक्रम समाबेश छ।यसैगरी अभिभावकसँग विद्यालय कार्यक्रम अन्तर्गत हरेक शनिबार विद्यालय ब्यबस्थापन समितिका पदाधिकारी तथा सदस्य,शिक्षक अभिभावक संघका पदाधिकारी तथा सदस्य र शिक्षकहरु विद्यार्थीहरुको घरमा पुगेर उनीहरूको अवस्थाबारे अभिभावकसंग छलफल गर्ने,साप्ताहिक सदनात्मक शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लगायत बर्षभरिमा विद्यालयले गर्ने समग्र शैक्षिक गतिविधिका बारेमा उल्लेख गरिएको छ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न सोही कार्यक्रममा विद्यालयको स्वर्ण जयन्ती मनाउन ५१ सदस्यीय मूल आयोजक समिति समेत गठन गरिएको छ।आगामी माघ महिनामा सप्ताहब्यापी रूपमा स्वर्ण जयन्ती मनाउन बास्तोलाकै अध्यक्षतामा गठित मूल आयोजक समितिले यही बैशाख ८ गते काठमाडौं उपत्यकामा रहेका पूर्ब विद्यार्थी तथा सरोकारवालाहरुसंग छलफल तथा अन्तरक्रिया आयोजना गर्ने कार्यक्रमसमेत तय गरिएको जमरकट्टेलले बताए।

विद्यालयका संस्थापक सदस्य बलराम बास्तोला,शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लालप्रसाद बास्तोला,शिक्षक अभिभावक संघ अध्यक्ष नानुमैंया बास्तोला,स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको सो कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राईले ब्यबस्थापन समितिले शैक्षिक सुधारका लागि अहिलेसम्म गरेका प्रयास प्रशंसनीय रहेको बताउंदै विद्यालयले अघि सार्ने सकारात्मक गतिविधिमा संधै गाउँपालिकाको साथ रहने प्रतिबद्धता व्यक्त गरेका थिए।हिमाल दर्शनको स्वर्ण जयन्तीलाई सफल बनाउन गाउँपालिकाले प्रबर्द्धकका रूपमा काम गर्ने अध्यक्ष राईको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्