सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने सरकारको निर्णय
काठमाडौं।सरकारले संसद्को चालू अधिवेशन आउँदो वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।बैठकले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधी ओमप्रसाद मिश्रको अध्यक्षतामा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य,मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद, विधि विज्ञानवेत्ता,द्वन्द्वविद, समाजशास्त्री,महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संग्लन व्यक्तिहरु मध्येबाट सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश प्रसाद शर्मा पौडेल,डा. अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेको समिति गठन गरेको छ।
यसैगरी,कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने,परराष्ट्र मन्त्रालयको प्रस्तावमा सयुक्त राज्य अमेरिकाको ओहोयो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रबक्ता रेखा शर्माले जानकारी दिइन।