साहित्यिक पत्रकारिताबारेको छलफलमा प्रेस काउन्सिल अध्यक्ष बस्नेत सम्मानित



काठमाडौं ।साहित्यिक पत्रकार संघको आयोजनामा साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रम सम्पन्न भएको छ।

साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा डालो रेस्टुरेन्ट,अनामनगरमा बिहिवार आयोजित कार्यक्रम वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।सो अवसरमा उहाँले साहित्यिक पत्रकारिताका क्षेत्रमा अझै पनि थुप्रै समस्या र चुनौतीहरू भएको बताउँदै ती समस्याहरूको समाधानमा जोड दिनुभयो ।

कार्यक्रममा साहित्यिक पत्रकारिताको अवस्था, समस्या र चुनौतीबारे समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका अध्यक्ष एवं गोरखापत्र र मधुपर्कका पूर्व प्रधान सम्पादक श्रीओम श्रेष्ठ “रोदन” र शारदा मासिकका सम्पादक विमल भौकाजीले आ-आफ्नो धारणा राख्नुभएको थियो । उहाँहरूले देशमा राजनीतिक परिवर्तन त भए तर साहित्यिक पत्रकारिताको स्थिति भने अझै पनि उस्तै रहेको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई सोही कार्यक्रममा सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत, कार्यक्रमको उद्देश्य र साहित्यिक पत्रकारिताबारे विषय प्रवेश गर्दै साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले प्रेस काउन्सिलले साहित्यिक पत्रकारिताको लागि नियमन गर्ने अलग निकाय बनाउनुपर्नेमा जोड दिनुभयो।उहाँले साहित्यिक पत्रकारिताका लागि बजेट पनि अलग्गै विनियोजन हुनुपर्ने र मूल्यांकन सरल हुनुपर्ने भन्दै साहित्यिक पत्रकार महासंघ निर्माण गरिनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा हिमाल आरोही तेम्बाछिरी शेर्पाले सम्मानित बस्नेतको हिमाल यात्राबारे चर्चा गर्नुभएको थियो । यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सम्मानित बस्नेतलाई बधाई ज्ञापन गर्नुभएको थियो ।

साहित्यकार श्रीबाबु कार्कीले संचालन गर्नु भएको सो कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई पनि सम्मानित गरिएको थियो ।

कवि तथा प्रेस काउन्सिल नेपालका सदस्य ठाकुर बेलवासे,सापसका पूर्व अध्यक्ष कलाकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठले धन्यवाद दिनुभएको सो कार्यक्रममा विशिष्ट अतिथिहरू वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गीतकार एवं समाजसेवी शोभित उप्रेती, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष पदम विश्वकर्मासहित साहित्यिक पत्रकार साहित्यकारहरू जयदेव भट्टराई,राजेश खनाल,सिद्दराज राई,अच्युत घिमिरे,सरस्वती गौतम,रुद्र अधिकारी,श्याम प्रधान,रमेश दाहाल,युवराज शर्मा,सुधीर घिमिरे, प्रवीण प्रधान,मोहन बाँस्तोला,प्रेम राना,प्रकाश ओली,ज्ञानेन्द्र कार्की, अमित ठाकुर,दामोदर न्यौपाने,जगत पोखरेल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्