कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै कोशीका ५३ प्रदेशसभा सदस्यको निवेदन



विराटनगर। कोशी प्रदेशमा नयाँ सरकार बनाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश प्रमुखलाई निवेदन दिएका छन् ।

माओवादी केन्द्रले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि दुवै दलले कोशी प्रदेशमा वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष निवेदन दिएका हुन् ।निवेदनमा नेकपा एमालेका ४० र नेकपा माओवादी केन्द्रका १३ गरी ५३ जना प्रदेश सभा सदस्यको हस्ताक्षर छ।यो प्रदेशसभाको बहुमत बढी संख्या हो।कोशीमा बहुमतका लागि ४७ जना भए पुग्छ।

मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै सोमबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन पेश गरिएको छ ।

निवेदनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई वैकल्पिक सरकारको मुख्यमन्त्री बनाउन समेत आग्रह गरिएको छ ।

गत असोज २७ गते एमालेका ३९ जना सदस्य र नेपाली कांग्रेसका ८ जना सांसदसहित ४७ जनाको समर्थनमा कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कात्तिक १ गते विश्वासको मत दिएको माओवादी केन्द्र र एमालेले समेत समर्थन फिर्ता लिएकाले मुख्यमन्त्री अल्पमतमा परिसकेको दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्