थुलुङदुधकोशी गाउँपालिका-९ को सार्वजनिक सुनुवाई सम्पन्न



सोलुखुम्बु।सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ९ को सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१को विकास निर्माण आयोजना तथा वडा कार्यालयबाट प्रवाह भएका सेवा सुविधाका बारेमा स्थानीयको उपस्थितिमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।

उठेका प्रश्नहरुको जवाफ दिँदै वडाध्यक्ष सनकुमार तामाङले सिमित बजेट सिलिङका कारण जनताले अपेक्षा गरे जसरी एकै वर्ष सबै कार्यक्रमहरु सम्पन्न गर्न नसकिने स्थितिको जानकारी गराए । तथापी अधिकतम बजेट वडामा भित्र्याउन आफू सदैब क्रियाशिल रहेको बताए । अध्यक्ष तामाङले दिल्बु लिशिफार हुँदै चन्दने जाने सडक, ल्वातर मुलखर्क चिर्कु लिखेप सम्म जाने सडक नयाँ ट्रयाक निर्माण गर्न आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छन् ।

सडक डिभिजन कार्यालयले लोखिमबेसी हुँदै वादा हुँगाखोला सोताङ पावै जोड्ने मुख्य सडक निर्माण अघिल्लो कार्यकालमै सुरु गरेको थियो । तर हालसम्म उक्त सडक निर्माण कार्य सम्पन्न नभएको चिन्तीत रहेको बताउँदै अध्यक्ष तामाङले उक्त आयोजना छिटो सम्पन्न गर्न गाउँपालिका अध्यक्ष तथा सडक डिभिजन कार्यालयसंग समन्वय गर्ने बताए । कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधि तथा कर्मचारीहरुको सेवा प्रवाह तथा व्यवहारप्रति खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा वडाध्यक्ष लगायत गाउँ कार्यपालिका सदस्य तमुना राई, वडा सदस्यहरु हर्कराज राई, चक्रे तामाङ, अनिता विक, जनता माविका विव्यस अध्यक्ष उत्तरकुविर राई, प्रधानाध्यापक हस्तबहादुर राई, लोखिम स्वास्थ्य चौकी प्रमुख हरि प्रसाद राई, कृषि शाखा प्रमुख नौधन राई, पशुशाखा प्रमुख सुरेश राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्