उम्मेदवार चयनका लागि कांग्रेस बैठक आज पनि बस्दै
काठमाडौं।उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसकेन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न मंगलबार बसेको बैठक निष्कर्ष बिनै टुंगिएपछि बैठक आज दिउँसो पुन बस्न लागेको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताए।हिंजो उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवार टुंगो लगाउन नसकिएको उनको भनाई थियो।
उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेद्वारका बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरुको छलफल भएको थियो ।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेद्वार मनोनयनपत्र दर्ताको समय तोकेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतले पार्टीको उम्मेदवार तय गरिसकेका छन् ।

