बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते बिश्वासको मत लिने



हेटौंडा।बिहिवारमात्रै मन्त्रीपरिषद् पुनर्गठन गरेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन्। आज नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता गराएका छन्।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेको मुख्यमन्त्री जम्कट्टेलले बताए। नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै फागुन २३ गते समर्थन फिर्ता लिएको थियो।

११० जना सदस्य रहेको बागमती प्रदेश सभामा ५६ मत पाएमा उनी मुख्यमन्त्री कायम रहन्छन्। नयाँ गठबन्धनमा रहेका नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, नेकपा एकीकृत समाजवादीको पार्टीको ७ गरी कूल ५५ मत रहेको छ। बिहीबार हाम्रो नेपाली पार्टीका १ जना सांसद मन्त्री नियुक्त भएसँगै उनले बहुमत जुटाएका हुन्।

यद्यपि हाम्रो नेपाली पार्टीले भने नयाँ गठबन्धनले आफ्ना अपहरण गरेर मन्त्री बनाएको भन्दै आपत्ति जनाएको छ।

प्रतिक्रिया दिनुहोस्