उपप्रधान एवं गृहमन्त्री लामिछानेसँग पाकिस्तानी राजदूत अब्रार एच हस्मीको भेट



काठमाडौं।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हस्मीले भेट गर्नुभएको छ ।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा राजदूत अब्रारले नेपाल र पाकिस्तानबीच अपराध नियन्त्रण सम्बन्धी सम्झौता हुन बाँकी रहेका समझदारी–पत्र उपर छलफल गर्न र पाकिस्तानबाट क्रिकेटसहितका खेलकुदमा क्लवस्तरमा समन्वय र सहकार्य गरी नागरिकस्तरसम्म असल सम्बन्ध स्थापित गराउन जोड दिनुपर्ने बताउनुभयो ।

पाकिस्तानी राजदूत अब्रारले नेपाल र पाकिस्तानबीचमा उच्च तहको भेटघाट गराइ परस्पर जनसांख्यिक र सांस्कृतिक लाभ हासिल गर्ने विषय पनि राख्नुभयो । साथै, युवाहरुको ढुकढुकी र परिवर्तनको संवाहकका रुपमा स्थापित हुन सकेकोमा गृहमन्त्रीलाई बधाई दिनुभयो ।

गृहमन्त्री लामिछानेले भर्खर सम्पन्न निर्वाचनले स्थायी सरकार र शान्ति स्थापनामा उल्लेख्य योगदान गर्ने विषयमा आफू विश्वस्त रहेको बताउँदै पाकिस्तानी जनताप्रति शुभेच्छा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्