माध्यमिक शिक्षा परीक्षा(एसइई)आजबाट,पाँच लाख बढी परीक्षार्थी सहभागी हुँदै



काठमाडौं।विद्यालय शिक्षाको फलामे ढोकाका रूपमा लिईंदै आएको माध्यमिक शिक्षा परीक्षा(एसइई)आजबाट सुरु हुंदैछ।बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

देश बाहिर जापानमा समेत एउटा परीक्षा केन्द्र निर्धारण गरिएको यस बर्षको एसइई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने कक्षा १० परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

उनका अनुसार कूल परीक्षार्थीमध्ये पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन्।

परीक्षामा यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक/एक, पर्सा र सप्तरीबाट दुई/दुई, रुपन्देहीबाट चार जना छन्।

परीक्षाका लागि कार्यालयले दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए। उनका अनुसार सबैभन्दा कम मनाङ, मुस्ताङमा एक/एक र सबैभन्दा बढी काठमाडौँमा एक सय २७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन्।

प्रतिक्रिया दिनुहोस्