माप्यमा दीर्घकालीन कृषि गुरुयोजना रणनीति निर्माण सम्बन्धी अन्तरक्रिया सम्पन्न
सोलुखुम्बु।माप्यदुधकोशी गाउँपालिकामा दीर्घकालीन कृषि गुरुयोजना रणनीति निर्माण सम्बन्धी अन्तरक्रिया आयोजना गरिएको छ ।

माप्य दुधकोशी गाउँपालिकाको आयोजना तथा नेपाल फार्मर्स एड्भाईजरी काउन्सिल प्रालिको प्राबिधिक सहयोगमा बुधबार आयोजित अन्तरक्रियाले कृषकहरुलाई ब्यबसायिक कृषिप्रति आकर्षित र प्रोत्साहित गर्ने गरी कृषि गुरुयोजना निर्माण गर्न महत्वपूर्ण शिक्षा प्रदान गरेको अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि कृषि मन्त्रालयका पूर्बसचिब एबम् नेपाल फार्मस एड्भाइजरी काउन्सिल प्रालीका अध्यक्ष डा. योगेन्द्र कार्कीले सर्बोच्च शिखर सगरमाथाको प्रवेशद्वारको रूपमा रहेको माप्य दुधकोशीमा कृषिको अपार सम्भावना रहेको बताउँदै १० बर्षे कृषि गुरुयोजना निर्माणले यसको बिकास र बिस्तारमा प्रभावकारी भूमिका निर्बाह गर्ने बिश्वास व्यक्त गर्नुभयो।कृषि बिकासका लागि गुरुयोजना निर्माण गाउँ पालिकाको प्रशंसनीय र अतुलनीय कार्य भएको बताउँदै कार्कीले आयआर्जन र रोजगारीको दिगो श्रोत भएकाले कृषि पेशामा जोड दिन स्थानीयलाई आग्रह समेत गर्नुभयो।कृषि क्षेत्रमा स्थानीय कृषकको मेहनत र लगानी देखेर आफू अत्यन्तै खुसी भएको बताउँदै वहाँले कृषि क्षेत्रको बिकासका लागि गाउँपालिका र स्थानीय कृषकहरुसंग निकट रहेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रमका संयोजक समेत रहनुभएका गाउँपालिका अध्यक्ष राईले समृद्धि र बिकासलाई प्राथमिकतामा राखेर आफू सधैं अगाडी बढेको बताउनुभयो।भौगोलिक हिसाबले पनि माप्यबासीका लागि कृषि आयआर्जनको प्रमुख माध्यम हुने बताउंदै वहाँले यसको बिकासका लागि दीर्घकालीन कृषि गुरुयोजना रणनीति निर्माण कोसेढुंगा सावित हुने बताउनुभयो। कृषिलाई व्यावसायिक ढंगले अगाडी बढाउन सकेको खण्डमा वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्नुका साथै जीवनस्तर उकास्न यसले महत्त्वपूर्ण योगदान गर्ने अध्यक्ष राईको भनाई थियो।उहाँले भन्नुभयो-‘कृषिलाई आधुनिकीकरण र व्यावसायिकरण गर्दै युवाहरुलाई यसतर्फ आकर्षित गर्नु कृषि गुरुयोजना निर्माणको मुख्य उद्देश्य हो।’यो उद्देश्य हासिल गरेरै छोड्ने दृढता समेत अध्यक्ष राईले अन्तरक्रियामा व्यक्त गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गौरब राइ,वडाध्यक्षहरु,कृषि बिज्ञ,कर्मचारी,अगुवा किसान र स्थानीयको सहभागिता थियो।

