बैशाख १५ गते हुने उपनिर्बाचनका लागि १० करोड बजेट स्वीकृत
काठमाडौँ।अर्थ मन्त्रालयले बैशाख १५ गते हुने उपनिर्बाचनका लागि बजेट स्वीकृत गरेको छ।

निर्बाचन आयोगको माग अनुसार मन्त्रालयले १० करोड रुपियाँ स्वीकृत गरेको हो।आयोगले गएको फागुनमा उपनिर्वाचनका लागि स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग आग्रह गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बजेट सुनिश्चित भएपछि निर्वाचनको व्यवस्थापकीय काम छिट्टै अगाडि बढ्ने बताउनुभयो । प्रवक्ता पौडेलले उम्मेदवारी दर्ताअघि नै दुवै जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा खर्चको अख्तियारी पठाइने बताउनुभयो ।
वैशाख १५ गते इलाम–२ प्रतिनिधि सभा सदस्य र बझाङ १ (१) मा प्रदेश सभा सदस्यको निर्वाचन हुँदै छ । निर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ता हुने छ । आयोगले चैत दोस्रो साता नै उपनिर्वाचनका लागि दुवै क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गर्ने छ । चैत २२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ ।
इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा कुल २० दल सहभागी हुँदै छन् ।
आयोगका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ २० दल र प्रदेश सभा सदस्यतर्फ १९ दलले भाग लिने गरी दल दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मात्र भाग लिने छ । लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले भाग लिने छैनन् । उपनिर्वाचनमा भाग लिने दललाई निर्वाचन आयोगले चैत ५ गते निर्वाचन चिह्न प्रदान गरिसकेको छ ।

