हाजिरी जमानतमा रिहा भए माओवादी केन्द्रका उपाध्यक्ष महरा
काठमाडौं ।माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा रिहा भएका छन्।

सुन तस्करी प्रकरणमा ५ चैतमा कपिलवस्तुबाट पक्राउ परेका महरालाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि उनलाई रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले जनाएको छ।महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो ।सरकारी वकिल कार्यालयका प्रवक्ता सीताराम अर्यालका अनुसार उनलाई जेठा छोरा निर्मल महराको जिम्मा लगाइएको छ।
महराको बयान भइसकेको, उमेर र स्वास्थ्य अवस्थाका कारण थुनामै राखेर अनुसन्धान गर्नु नपर्ने निष्कर्षमा सरकारी वकिल पुगेको हो। अर्यालले भने, ‘उहाँको बयान भइसकेको, उमेर र स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा रिहा हुनुभएको छ। हामीले उहाँकै छोराको जिम्मा लगाएका छौँ।’
प्रहरी कपिलवस्तुबाट महरालाई पक्राउ गरेर काठमाडौं ल्याएकै दिन अनुसन्धानका लागी ७ दिनको म्याद मागेको प्रहरीलाई अदालतले ४ दिनको म्याद दिएको थियो । त्यसमा पनि स्वास्थ्यस्थिति देखाउंदै अदालतले अस्पतालमा राख्न आदेश गरेको थियो ।
महराको चिनियाँ तस्कर गिरोहका एक मुख्य पात्र दावोजिन वाङसँग सम्बन्ध देखिएको थियो । उनले विमानस्थल भन्सारले नियन्त्रणमा लिएको सुनसहितको विद्युतीय सिगरेट (भेप) छुटाउनलाई भन्सार कर्मचारीलाई दबाब दिएको समेत खुलेको थियो ।
उनका छोरा राहुल महरा यही मुद्दामा पुर्पक्षका लागि थुनामा छन् । महरालाई भने सीआईबीले यसअघि प्रतिवादी बनाएको थिएन । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित सुन आयोगले उनलाई पनि मुद्दा चलाउन सिफारिस गरेपछि महरा पक्राउ परेका थिए ।file foto

