जुभिङका केशव राई फागुन २७ गतेदेखि सुर्केबाट बेपत्ता,घटना शंकास्पद रहेको परिवारको दावी



काठमाडौं।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको सुर्केबाट एक ब्यक्ति बेपत्ता भएका छन्।

छिमेकी गाउँपालिका माप्य दुधकोशी वडा नं- १ जुभिङका २५ बर्षीय केशव राई सो स्थानबाट बेपत्ता भएका हुन्।

रोजगारको सिलसिलामा त्यहाँ पुगेका उनी फागुन २७ गतेदेखि सम्पर्कमा नरहेको बुवा चतुरमान राईले बताए।त्यस क्षेत्रमा भरियाको काम गर्दै आएका राई सो दिन साथीहरुसंगै पैंयाबाट नाम्चे जाने क्रममा सुर्केमा बास बसेको बताइएको छ।बास बसेको स्थानमा साथी-साथीबीच विवाद भएको र त्यही क्रममा दुई जनाले उनीमाथि कुटपिट गरेको सूचना आफुहरुले पाएको बुवा चतुरमानको भनाई छ।

त्यसयता उनी बेपत्ता छन् भने उनले बोकेको भारी नजिकैको जंगलमा फेला परेको छ।घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने आशंका परिवारले गरेको छ।बेपत्ता रहेको छोराको खोजी गरिदिन र दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय लुक्लामा सोमबार परिवारकातर्फबाट जाहेरी दिएको उनले बताए।

घटना अत्यन्तै शंकास्पद छ, बुवा चतुरमानले भने-‘छोराको वास्तविक अवस्था छिटो पत्ता लागोस् भन्ने हाम्रो चाहना छ।

प्रतिक्रिया दिनुहोस्