महरा पक्राउ परेपछि प्रतिनिधिसभा बैठकमा गगन थापाले गरे एमालेको प्रशंसा



काठमाडौं।सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेपछि कांग्रेस महामन्त्री गगन थापाले प्रतिनिधिसभा बैठकमा एमालेको प्रशंसा गरेका छन्।

सुन तस्करी प्रकरणको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले साेमबार बिहान कपिलवस्तुबाट पूर्वसभामुखसमेत रहेका महरालाई पक्राउ गरेको थियो।उनलाई यती एअरको जहाजमार्फत भैरहवाबाट काठमाडौँ ल्याइ सीआईबी कार्यालय लाजिम्पाट पुर्‍याइएको छ।

संसद सुरु भएसँगै सभामुख देवराज घिमिरेबाट समय लिई बाेलेका थापाले एमालेले आयोग बनाउन उठाएको प्रश्न सही सावित भएको बताएका थिए।‘भर्खर हामीले समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ पर्नुभएको छ। सरकारलाई धन्यवाद छ। यसमा सरकारलाई हाम्रो पूर्ण साथ छ,’ थापाले भने।

उनले सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको पनि बताए।

थापाले भने, ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरुलाई लुकाएको छ भनेर जोडदारसँग उठायो। प्रहरीको नियमित छानविनबाट अनुसन्धान सही ठाउँमा पुग्न सक्दैन भनेर। शक्तिशाली नेताहरुलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही सावित भयो।’

साथै, उनले एमालेले यो कुरा नउठाएको भए आयोग नबन्ने अनि सुनकाण्ड फासफुस हुने पनि बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्