सल्लेरी-सेलगुडी-माप्य-खुम्बु सडक कालोपत्रेका लागि बजेट थप गर्ने उपप्रधानमन्त्री महासेठको प्रतिबद्धता



काठमाडौं।उपप्रधानमन्त्री रघुबीर महासेठले सल्लेरी-सेलगुडी-माप्य-खुम्बु निर्बाचन क्षेत्र रणनीतिक सडक कालोपत्रेका लागि बजेट थप गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिनिधिसभा सदस्य मानबीर राई नेतृत्वको प्रतिनिधिमण्डलसंँग आइतबार मन्त्रालयमा भएको भेटवार्तामा भौतिक पूर्बाधार तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री महासेठले सो प्रतिबद्धता व्यक्त गर्नुभएको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य राईसहित राष्ट्रियसभा सदस्य सोनाम गेल्जेन शेर्पा,पूर्बमन्त्री तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी र गाउंँपालिका अध्यक्ष राई सहभागी हुनुहुन्थ्यो।

भेटमा सडक सो सडक खण्डको १५ किलोमिटर कालोपत्रेका लागि संघीय सरकारले चालु आर्थिक बर्षका लागि बिनियोजन गरेको ६२ करोडबाट ४२ करोडमा ठेक्का सम्झौता सम्पन्न गरेर काम सुरु गरेपछि कांग्रेस नेतृत्वको गठबन्धन सरकारले रोक्ने काम गरेको जानकारी गराउंँदै हामीले थप बजेटसहित त्यसलाई निरन्तरता दिन ध्यानाकर्षण गराएका थियौं,अध्यक्ष राईले भन्नुभयो-‘उपप्रधानमन्त्री ज्यूले रोकिएको काम निरन्तर अघि बढाउने आश्वासनसहित थप १५ किलोमिटर सडक कालोपत्रेका लागि बजेट थप गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।’

‘सडक कालोपत्रे शिलान्यास भएपछि सेलगुडी डांँडासम्म पुगेर मैंले त्यस क्षेत्रको प्रत्यक्ष अवलोकन गरेको छु’- उपप्रधानमन्त्री महासेठको भनाई उदृत गर्दै अध्यक्ष राईले भन्नुभयो -‘आकर्षक पर्यटकीय गन्तव्य रहेको सगरमाथा क्षेत्रको सडक स्तरोन्नतिलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने मेरो मान्यता छ,त्यसैले कालोपत्रेको काम निरन्तर अघि बढ्ने कुरामा तपाईंहरु निश्चिन्त भए हुन्छ।’

वहाँले आफ्नो कार्यकालमा पूर्बाधार बिकासका क्षेत्रमा सोलुखुम्बुका लागि उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धतासमेत जनाएको अध्यक्ष राईले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्