सुन तस्करीमा मुछिएका अखिल क्रान्तिकारीका महासचिव दिपेश पुन पक्राउ
काठमाडौं।नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनलाई पक्राउ परेका छन्।

गत साउन २ गते बरामद भएको साढे ६१ किलो तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले शुक्रबार उनकै निवास धापासीबाट पक्राउ गरेको हो।
सुन तस्करी प्रकरणमा जोडिएकाहरूलाई कारबाही अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्।
आयोगको प्रतिवेदन कार्यान्वयमा लैजाने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेलगत्तै दीपेश समातिएका हुन्।पुन र ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ होटल भियानाका मालिक बेल्जियन नागरिक दावा छिरिङको सम्बन्ध रहेको तथ्य प्रहरीले पत्ता लगाएको थियो।सुन प्रकरण बाहिरिएसँगै पूर्व उपराष्ट्रपति पुनको परिवार नै जोडिएको विवरण खुलेको थियो।
आयोगले सुन तस्करीमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाही गर्न सिफारिस गरेको छ।आयोगले बुधबार गृहमन्त्री रबि लामिछानेलाई आफ्नो प्रतिबेदन बुझाएको थियो।

