भक्तपुरमा दुई दिने ‘निरंकारी सन्त समागम’ को आयोजना गरिने



सन्जिव दुलाल,भक्तपुर । भक्तपुरमा दुई दिने निरंकारी सन्त समागम आयोजना गरिने भएको छ।

सन्त निरंकारी मण्डल नेपालको आयोजनामा यही चैत्र ३ र ४ गते सो सत्संग आयोजना गर्न लागिएको हो।सन्त निरंकारी मण्डल नेपालले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै ‘२३ औं निरंकारी सन्त समागम नेपाल’ दुई दिनसम्म चल्ने जानकारी दिएको छ । उक्त कार्यक्रमका लागि १२०० जना स्वयंसेवक खटाइएको आयोजकले जनाएका छन् । सत्संगमा उपस्थित भएका मानिसहरुका लागि निःशूल्क खाने बस्ने व्यवस्था,यातायात,पानी,५०० वटा शौचालय आदिको व्यवस्था रहने र अन्य किसिमका खानेकुराका लागि सस्तो मूल्यमा क्यान्टिनसमेत रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सल्लाघारीको चौरको १०८ रोपनि जग्गामा उक्त कार्यक्रम आयोजना हुने आयोजकले जनाएका छन् । उक्त कार्यक्रमका लागि स्वयंसेवकहरुले निःशूल्क सफा गरि पण्डाल लगाएको र सो हटाएपछि सबै सफा गरेर मात्र छोड्ने निरंकारी मण्डलका उपत्यका क्षेत्रीय सञ्चालक बाबुराज महर्जनले जानकारी दिए ।सो कार्यक्रमका लागि १० हजार भारतीय र करिब ५ हजार नेपालीको उपस्थिति रहने आयोजकले जनाएका छन् । कार्यक्रममा उपस्थित हुनेहरु स्वेच्छाले आफ्नै खर्चमा आएको र कार्यक्रम पनि कतैको फन्डिङ नभइ स्वेच्छिक दानबाट सञ्चालन हुने आयोजकको दाबी छ ।

१०० भन्दा बढी देशमा विभिन्न नामबाट रहेको सन्त निरंकारी मिसनको नेपालका ३९ जिल्लामा १२५ सत्संघ भवन रहेका छन् । भोलिबाट सुरु हुने कार्यक्रम नेपालमा पहिले पनि आयोजना भएका भएतापनि यसपटकको भने नेपालमा आयोजना भएकामध्ये सबैभन्दा भव्य रहने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्