केरुङमा एडभान्स सीप बिकास तालिम सुरु,प्राप्त ज्ञानलाई उत्पादनसंग जोड्न मेयर शेर्पाको आग्रह
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकामा एक महिने प्रबिधि हाते होजियारी एडभान्स सीप बिकास तालिम सुरु भएको छ।

नगरपालिकाको वडा नं ८ केरुङमा मंगलबारबाट सुरु तालिमको प्रमुख अतिथि नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पा उद्घाटन गरेका हुन।
सोलुदुधकुण्ड नगरपालिकाको आयोजना तथा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) र लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाडौंको आर्थिक सहयोगमा सुरु तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि शेर्पाले होजियारी तालिम महिलाहरुका लागि अत्यन्तै उपयोगी हुने बताए। घर आंँगनमै उपलब्ध भएको तालिमबाट प्राप्त सीपलाई उत्पादनसंग जोड्न सके महिलाहरुले यसबाट ठुलो आर्थिक लाभ लिन सक्ने शेर्पाको भनाई थियो।
‘खेतबारी या अन्य ब्यबसायबाट मिलेको फुर्सदको समयमामात्रै पनि तालिमबाट प्राप्त सीपको सदुपयोग गर्न सकेमात्रै पनि यसबाट अतिरिक्त आम्दानी गर्न सकिन्छ, नगरप्रमुख शेर्पाले सहभागीहरुलाई भने-‘औपचारिकताका लागि नभई उत्पादनसंग जोडिने गरी तालिमको सदुपयोग गर्नुहोला।’
सोही अवसरमा नगरप्रमुख शेर्पाले होजियारी तालिमका लागि आवश्यक डिजिटल जडित प्रबिधि हस्तान्तरणसमेत गरेका थिए।सो प्रबिधिबाट ढाका,स्वीटर र हाइनेक बुनाई सम्बन्धि तालिम प्रदान गरिने नगरपालिकाले जनाएको छ।झण्डै दुई दर्जन स्थानीय महिलाको सहभागीता रहेको एक महिने उक्त तालिममा नगरपालिकाकी उद्द्म सहजकर्ता भविश्वरा बुढाले सहजीकरण गर्नेछिन।

