भरतपुर भ्रमण वर्ष मुलुककै पर्यटन बिकासमा कोशेढुंगा साबित हुने प्रधानमन्त्री प्रचण्डको बिश्वास

भरतपुर।भरतपुर महानगरपालिकाको आयोजनामा‘घुमौँ भरतपुर’ भन्ने नारासहित भरतपुर भ्रमण वर्ष २०२४ को नारायणी नदीकिनारमा औपचारिक रूपमा उद्घाटन गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज भरतपुर भ्रमण वर्षको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी लगायतको समेत उपस्थिति रहेको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन र कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाले सुरु गरेको भरतपुर भ्रमण वर्षको प्रशंसा गर्दै
यो राष्ट्रकै पर्यटन प्रवर्द्धनमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
विशिष्ट पाहुनाबाट एक सय ५० वर्षदेखि चितवनका जंगलमा सिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जंगल सफारीको सुरुआत टाइगर टपले मेघौली नजिक चितवनबाट भएको स्मरण गरे।अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमशृंखलाको दृश्यावलोकन एवं समथर तराईको भू–भागको दृश्यावलोकनलगायतका प्राकृतिक आकर्षण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिकस्थल, गढी, दरबार, सङ्ग्रहालय, पार्क, धार्मिकस्थल, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्य रहेको बताए।
‘भरतपुर भ्रमण वर्षले रत्ननगर नगरपालिकाको सौराहाबाट माडी नगरपालिकाको सोमेश्वर गढीसम्म, राप्तीको परेवाकोटबाट खैरहनीको कुमरोजसम्म, कालिकाको सिन्ते झरनाबाट गैँडाकोटको मौलाकालिकासम्म, चितवनको उच्च भाग इच्छाकामनाको सिराइचुलीबाट बागमती प्रदेशकै होचो भू–भाग भरतपुर महानगरपालिकाको गोलाघाटसम्मका ५० भन्दा बढी गन्तव्यको प्रवद्र्धन गर्नेछ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यो चितवनको पर्यटनमा गुणात्मक फड्को हुनेछ।’
चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवद्र्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ।’

