राप्रपाले चैत १६ गते काठमाडौं घेराउ गर्ने
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना माग पुरा नभए १ लाख जनता उतारेर राजधानी काठमाडौं घेराउ गर्ने घोषणा गरेको छ ।

अवस्था परिवर्तनका लागि व्यवस्था परिवर्तन गर्न भन्दै फागुन ९ गते ७४ जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत र केन्द्रमा प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको सो पार्टीले एक महिना भित्र आफ्ना माग पुरा नगरे चैत १६ गते काठमाडौं घेर्ने घोषणा गरेको हो।
आज सम्पन्न प्रशिक्षणमा सो घोषणा गरिएको जानकारी दिंदै अध्यक्ष राजेन्द्र लिङदेनले बुधबार सांझ सामाजिक सञ्जालमा लेखेका छन् -‘एक महिना भित्र माग सम्बोधन गर्न सरकारलाई दिइएको समयसीमा सम्म भेला, गोष्ठी , कोणसभा र आमसभा गरिने साथै आगामी चैत्र -१६ गते राजधानीमा १ लाख जनताले काठमाडौ घेराउ गर्ने आजको प्रशिक्षण कार्यक्रममा घोषणा भएको हुँदा सबै साथिहरु स्वतस्फूर्त रुपले शान्तिपूर्ण सडक संघर्षमा आउनको लागि तयारी थाल्न हामी सम्पुर्ण राष्ट्रबादी साथिहरु लाई हार्दिक अपिल गर्दछौं ।’
‘अब सरकार र सरकारमा व्यक्ति परिवर्तन हैन यो भष्ट आयातित व्यवस्था नै परिवर्तन गरौं’-उनले भनेका छन्।

