बर्तमान निर्बाचन प्रणालीले ठेकेदार, फटाहा र स्पन्सरहरूलाई मात्र सांसद बनायो : पूर्ब सभामुख ढुंगाना
काठमाडौं।पूर्वसभामुख दमननाथ ढुंगानाले अहिलेको निर्वाचन प्रणाली भ्रष्टाचारको द्वार भएको बताउंदै यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन्।

सभासद् मञ्च नेपालले मंगलबार आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवादमा बोल्दै पूर्वसभामुख ढुंगानाले बर्तमान निर्बाचन प्रणालीले ठेकेदार, फटाहा र स्पन्सरहरूलाई मात्र सांसद बनाएको टिप्पणी गरे।संघीय संसद् सुन चोरहरूको संसद् बनेको उनको टिप्पणी थियो।
पार्टीले जनसेवी र प्रसिद्ध नेतालाई चुनावको टिकट नदिई पैसामा बेच्ने गरेको उनले स्पष्ट पारे।ढुंगानाले भने, ‘यो निर्वाचन प्रणाली भ्रष्टाचारकै द्वार हो। यो पार्टी, ऊ पार्टीको कुरा होइन। एउटा मान्छे सबै जवानी खर्च गरेर म सांसद हुँला भनेर एउटा क्षेत्र बनाउँछ। पार्टीलाई पनि थाहा छ, यो जनसेवी छ। खुत्रुक्क कुन नेताको खल्तीमा करोडौँ पर्छ, त्यसले टिकट पाउँछ। दलमा भ्रष्टाचार टिकट बेच्नमा शुरु भइसकेको छ। यो रोक्न सक्छौँ हामी ? २०८४ को संसद् कस्तो होला कल्पना गर्नुस् त? खालि ठेकेदार, फटाहा र स्पन्सरहरूको र अहिले सुन चोरहरूको संसद् बन्न गइरहेको छ। भ्रष्टाचारीको संसद् बनाउन गइरहेका छौँ।’
उनले संविधानको आधारभूत चरित्रमाथि प्रश्न उठिरहेको भन्दै जनताले आन्दोलन गरेमा २०७२ सालको संविधान उल्टिन सक्ने बताए। उनले जनताको आन्दोलनका कारण २०४७ सालको संविधान उल्टिएको दृष्टान्त समेत दिए। मन्त्रीहरू भ्रष्टाचारमा मुछिँदा समेत प्रधानमन्त्रीले हटाउन नसकेको भन्दै सरकार सकसमा चलिरहेको उनले दृढता व्यक्त गरे।
ढुंगानाले भने, ‘संविधान लागू भएको ८ वर्ष भएको छैन, यसका सबै आधारभूत चरित्रमाथि प्रश्न उठिराखेको छ। जनता सडकमा आइरहेका छन्। संवाद शुरु गर्ने कि नगर्ने ? निषेध गर्यो भने कहाँ पुर्याउँछ ?

