दाहाल र देउवाका कारण संक्रमणकालीन न्याय सम्बन्धि विधेयक टुंगोमा पुग्न सकेन : अध्यक्ष ओली
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धि विधेयक(टिआरसी)नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको आरोप लगाएका छ्न्।

मंगलबारबाट पार्टी मुख्यालय च्यासलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले सधैंका लागि अन्त्य हुनेगरी आफ्नो पार्टीले टिआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको बताउंदै सो आरोप लगाएका हुन्। उनले आफू प्रधानमन्त्री भएकाबेला नै शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउनुपर्छ भनेर लागेको बताएका छन्। आफूले कोशिस गरे पनि प्रचण्ड र देउवाले नै त्यसबेला नमानेको उनको भनाई थियो।
ओलीले बिधेयक पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रिय सभा निर्वाचनमा एक्लिनुपरेको समेत बताए।
राष्ट्रिय सभा निर्वाचनअघि नै टिआरसी विधेयक पारित गरौं भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाको पटक–पटकको प्रस्तावमा सो विधेयक पीडितमैत्री हुनुपर्ने आफूहरुको अडानका कारण अघि बढ्न नसकेको दाबी उनको थियो।पीडितलाई मञ्जुर हुने बित्तिकै सो विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको अध्यक्ष ओलीले बताए।

