चित्रराज बुढाथोकीलाई बधाईको ओइरो,प्रधानमन्त्री भन्छन् – ‘सामाजिक सञ्जालको भर नपर्नु’
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरेका छन्।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त भएको भन्दै सामाजिक सञ्जालमा चित्रराज बुढाथोकीलाई बधाईको ओइरो लागिरहेका बेला प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेट सो आग्रह गरेका हुन्। उनले भने, ‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।’पत्रकारिता जगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा उनको जोड थियो।
उनले आफूले प्रधानमन्त्रीका रुपमा मुलुकलाई विश्वमाझ चिनाउन प्रयत्न गरेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणबाट विभिन्न मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनेको बताए।
आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उनले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताए । ‘लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ’, उनले भने।
सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले थालनी गरेको अभियानमा सञ्चारजगत्बाट सहयोगको अपेक्षा गरिएको बताए। भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए ।file foto