देशभर प्रजातन्त्र दिवस मनाईंदै,बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउनेपर्नेमा राष्ट्रपतिको जोड
काठमाडाैं। आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २००७ साल फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ साल वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।
दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको छ । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिन्छ ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालीले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैँले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्ण जग विसं २००७ को क्रान्ति थियो भन्ने बिर्सन नहुनेमा राष्ट्रपति पौडेलको जोड छ ।
नेपालको संविधानले संघयय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै सन्देशमा राष्ट्रपतिले प्रजातन्त्र दिवसले सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई लोकतान्त्रिक मूल्य, मान्यता अवलम्बन गर्दै जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

