यात्रा संस्मरण : रमणीय दूधकुण्ड घुमघाम
- सुजन शर्मा
दूधकुण्ड जनै पुर्णिमाको अवसरमा मात्र प्रायः मानिसहरु जाने यस क्षेत्रमा हामी विजयदशमी को पर्शि पल्ट (कार्तिक ९ ) घुम्न जाने निर्णय गरियो। यात्रामा हामी ८ जना सहभागी थियॅौ।
काठमाडौंदेखि खोलुखुम्बु जिल्लासम्म हाल पक्कि सडक विपि राजमार्ग खुर्कोट हॅुदै सिद्दिचरण राजमार्गबाट सल्लेरी पुग्न सकिन्छ। हवाईमार्गबाट आउॅदा फाप्लु एयरपोर्ट अवतरण गरिसकेपछि दूधकुण्डको यात्रा सुरू गर्न सकिन्छ।

सल्लेरीबाट उत्तरतर्फ टाक्सिन्दु डाडॅासम्म कच्ची वाटोको ट्रयाक खोलिएकाले त्यहॅासम्म बोलेरो गाडी जॅादो रहेछ । गाडीमा त्यहाँसम्म जान १ घण्टा ३० मिनेट लाग्ने रहेछ। हिॅड्न मन पराउनेका लागि फाप्लु-चिवाङ-फेरा हॅुदै करिब ६-७ घण्टामा टाक्सिन्दु डाडॅा पुगिन्छ।
टाक्सिन्दु डाडॅाबाट करिब १ घण्टासम्म बाटो पैदल यात्रापछि केरूङ पाटि (३४६९ मिटर) सम्म पुगिन्छ। हामी हिडेको दिन मौसम खराव भएकाले टाक्सिन्दु डाडॅाबाट २० मिनेट हिडेपछि पानी पर्न थाल्यो। पानीबाट बाँच्न हामीले प्लाष्टिक र छाताको प्रयोग गर्यौं र यात्रा अगाडि बढायौ।
केरूङ पाटीबाट करिब १ घण्टाको उकालो यात्रा पश्चात सरकारीपाटी आईपुग्यौं । पानीले भिजाएर जाडो भएकाले हामीले झोलाबाट भुटेका मकै झिकेर खादै यात्रा अगाडि बढायौ।
सरकारी पाटीबाट ३०मिनेट पछि हामी सानो दूधकुण्ड आइपुगियो। यो चॅाहि माथि जान नसक्नेहरुका लागि बनाएको कुण्ड रहेछ। यहॅा बस्न चौतारो र खानेपानिको व्यवस्था रहेछ।
सरकरीपाटीबाट करिब १ घण्टाको उकालो यात्रा पश्चात ३८६० मिटरको उचाईमा कामोडाडॅा आईपुग्यौ । कामोडाडॅामा खान र बस्नको लागि टाक्सिन्दुकै स्थानीय लाक्पा शेर्पाले नुम्वुर रिट्रेट नामक होटल संचालन गर्नु भएको रहेछ। यहॅा आवाससहितको सुविधाले जुनसुकै मौसममा आउने यात्रीलाई सहज हुने देखियो। यस स्थानबाट सगरमाथा लगायत थुप्रै हिमालहरु नियाल्न सकिन्छ । कामोडाडॅालाई आजकल एभरेष्ट भिउ पोइन्ट पनि भनिंदो रहेछ। अलिअलि भिजेका कपडालाई आगोमा सेकाएर तताउने प्रयास गर्दा गर्दै खाना तयार भएकाले खाना खाने तयारी गरियो। त्यसपछि थकित ज्यान कुन वेला निदाएछ पत्तो नै भएन।
कामोडाडॅावाट मास्तिर उक्लेपछि रुख-विरुवाहरू कम कम हुदै जान्छन । यस क्षेत्रमा सुनपाती टिप्ने मानिसहरु आउने गर्छन। सुनपातीको वास्ना कडा हुने गर्छ। जो कोहिलाई यसको बास्ना मन नपर्न सक्छ।
निरन्तरको हिडाई, विसाउने चौतारीमा विसाउँदै वरिपरीका रमाइला पहाड दृश्यमा अटाउँदै हामी करिब २ घण्टा हिॅडेपछि ज्याम्ले खोला (३८८९ मिटर) हुँदै त्यहाँबाट करिब २० मिनेट ओरालो हिडेपछि सानोवेनि(३८५० मिटर )पुगिन्छ। यस स्थानसम्म आइपुग्दा सबै साथीहरुलाई केहि पनि स्वास्थ्य समस्या आएको थिएन।
सानोवेनिबाट उकालो-तेर्सो करिब १ घण्टा हिंडेपछि सहस्रवेनि (४०३० मिटर ) पुगिन्छ। यस उकालोमा भने साथीहरुलाई अलि कठिन नै भयो तैपनि लट्ठिको शाहारा र बोकेको खानेकुरा पानि खादै हामी अगाडि बढ्यौ।
हामी सह्स्रवेनि पुग्नासाथ दावा शेर्पा दाईले तातोपानि र चिया ले स्वागत गर्नुभयो। उहॅा चौरीपालक कृषक भएकोले बर्ष भरि त्यतै बस्नुहुन्छ। बिहान घामको पहिलो झुल्को हिमालमा पर्दा नुम्बुर,कर्यालुंग हिमाल सुनझै टल्किएका थिए, हामीले केहि थान तस्विरहरु आ-आफ्नो मोवाइलले खिच्यौ।
बाटोमा हिड्दा अग्ला अग्ला पहाड,सुन्दर झरना,विभिन्न जातका फुल,पशुपन्छि,चराचुरूङ्गी सुनपातीको मिठो बासना,चौरीगाईको दुध र छुर्फि सम्झन लायक यात्राका केहि मिठा अनुभूतिहरू छन्।
सहस्रवेनीमा तातोपानी,चिया र सातु खाएपछि हाम्रो यात्रा दूधकुण्डतर्फ अगाडि बढ्यो। प्राय यस स्थानमा आउने यात्रीहरुलाई असहज पार्ने उकालो यहि हो। उकालो बढेसंगै श्वासप्रश्वासमा समस्या,लेक लाग्ने समस्या हुन्छ। सहस्रवेनिको ठाडो उकालो लट्ठि र पानीको सहाराले करिब ३ घण्टामा हामी हाम्रो गन्तब्यस्थल ४६३२ मिटरको दूधकुण्डमा आइपुग्यॅौ।हामी त्यहाँ आइपुग्दा मौसम अलि खराव हुँंदा नुम्वूर र कार्यालुंग हिमाल अलिअलि देखिन्थे। पोखरीको डिलमै रहेको दियो वत्ति अगरवत्ति वाल्ने ठाउॅमा हामीले पुजा तथा प्राथना गर्यौं। पानी जमेर आइस भएकाले पोखरी पनि आधा जमेको थियो।
उत्पति सम्वन्धि किंवदन्ती
(क) बौद्धमार्गी भनाई अनुसार विभिन्न धार्मिक गुरूहरू तिव्वत तथा नेपालवाट आइ तपस्या गर्ने ठाउँ भएकाले धार्मिक आस्थाको थलोको रुपमा लिन्छन। यहॅा आएर आफुले चिताएको (गाईवस्तु, सन्तान, पशुपन्छि )माग्दा पुग्ने विश्वास रहिआएको छ।
(ख) हिन्दु तथा किरॅातका अनुसार यो ठाउॅमा परापुर्वककालमा भगवान महादेवले तपस्या गरेको स्थानको रुपमा लिने गरेको पाइन्छ। समुन्द्र मन्थनको वेला निस्किएको कालोविषले संसार ध्वस्त पार्न लाग्दा भगवान शिवले उक्त विष घाँटीमा लिई दूधकुण्डको चिसो पानी पिए पश्चात विष मत्थर रहेको भनाई पनि पाईन्छ।
मुख्य तालहरु
१) दूधकुण्ड ताल : दुई हिमाल नुम्वुर र कारेलुंगबाट पग्लिएर वनेको छ। धार्मिक महत्व वोकेको यस तालको पानीले नुहाएमा पाप नष्ट हुने विश्वास छ।
२) भुतपोखरी : दूधकुण्ड जाने वाटोमा अत्यन्तै कालो पोखरी रहेको छ,जसलाई भुतकुण्ड तथा भुतपोखरिको नामले चिनिन्छ। सुरूमा दूधकुण्ड जॅादा भुतपोखरीको दर्शन गर्दै जाने तथा आउदॅा भने सो स्थान नभई अर्को वाटो जाने यहॅाको प्रचलन छ। दूधकुण्डबाट फर्किदा यस स्थान हुदै आएमा मागेको वर नपाइने विश्वास छ।
३)गंगा जमुना ताल: दूधकुण्ड ताल तथा भुतपोखरी बीच विभागमा गंगाजमुना ताल रहेको छ। उस्तै आकार-प्रकारका दुईवटा निला तालहरू भएकाले नै यिनीहरूको नाम गंगा-जमुना नाम रहेको जनआस्था छ।
४)ॲाखेपोखरी: मानव ॲाखाको आकारमा रहेको ताल दूघकुण्डको पुर्व दिशामा रहेको छ।
५)महाकुण्ड: नुम्बुर तथा कारेलुंग बिच दरारमा यो ताल अवस्थित छ।
समस्याहरु:
– ठाउॅ ठाउॅमा बस्न पाटी खानेपानि तथा टिहाउस (Tea House) को अभाव
-जथाभावी फोहोर भएकाले व्यवस्थापनमा कठिनाई
-दिशा पिसावको लागि कुण्ड वरपर चर्पीको अभाव प्राकृतिक रुपमा
अत्यन्तै सुन्दर रहेको दूधकुण्ड क्षेत्रका समस्याहरुलाई मध्यनजर राखि समाधानतर्फ ध्यान दिएको खण्डमा यो उत्कृष्ट गन्तव्य हुने कुरामा दुईमत छैन ।
केहि फोटोहरु





