कोशीमा अन्तिम संबैधानिक विकल्प प्रयोग हुँदै,नयाँ सरकार गठनका लागि शुक्रबारसम्मको समय



बिराटनगर।कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले सात दिने समयसीमा भित्र नयाँ सरकार गठनका लागि दावी पेश गर्न आव्हान गरेका छन्।मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख खापुङले शनिबार सांझ संबिधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन्।

यो व्यवस्था अनुसार र प्रदेश सभामा बहुमत जुटाउन सक्ने सांसदले बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री दाबी गर्न सक्नेछन् । बहुमत जुटाउने सांसदले आउँदो शुक्रवार बेलुका पाँच बजेभित्र दाबी पेस गर्नुपर्नेछ ।यो प्रदेश सभामा सरकार गठनको अन्तिम संबैधानिक विकल्प हो ।

कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । कोशीमा गठबन्धनमा रहेका नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् । गठबन्धनसँग स्पष्ट बहुमत छ । एमालेका ४० सांसद छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६ सांसद छन् । यसअघि राप्रपाले एमालेलाई समर्थन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्