राजीनामा दिंदै मुख्यमन्त्री कार्कीले भने,-‘कोशीमा मिलीजुली सरकार बनाउनु नै अन्तिम विकल्प’
बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा कोशीमा मिलीजुली सरकार बनाउनु नै अन्तिम विकल्प भएको बताएका छन्। नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकमा पदबाट राजीनामाको घोषणा गर्दै सो कुरा बताएका हुन्।

त्यसक्रममा उनले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको बताउँदै उनले आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न तयार रहेको पनि जिकिर गरे ।
नेकपा एमाले संसदीय दलका नेता कार्की सर्वोच्च अदालतको आदेशअनुसार संविधानको धारा १६८ (३) अनुसार २२ भदौमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । विश्वासको मत दिन शनिबारको प्रदेशसभा बैठक राखिएको थियो ।
तर प्रदेशसभा बैठकअघि बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गर्यो । अहिले विश्वासको मत नपाए संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा दाबी गर्न नपाउने कानुन व्यवसायीहरुको धारणापछि राजीनामा दिने निर्णयमा पुगेको एमालेका एक प्रदेशसभा सदस्यले बताए ।
अब संविाधानको धारा १६८ (५) अनुसार प्रदेशसभाका कुनै सदस्यको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ ।