सुन तस्करी अनुसन्धान : आज पनि दुई जना पक्राउ



काठमाडौं।सुन तस्करीको छानबिन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले थप दुई जनालाई फरकफरक स्थानबाट पक्राउ गरेको छ।पछिल्लो समय चीनसँग जोडिएको दोलखाको नाका हुँदै भइरहेको सुन तस्करीमा संलग्न रहेको आरोपमा लागेका एक र भेप प्रकरणका एक गरी दुई जनालाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा एक चिनियाँ र एक नेपाली नागरिक छन् ।

दोलखा प्रकरणमा पक्राउ पर्ने थप एकजनामा चीनको सिचुवानका ६६ वर्षीय तासी दावा भनिने आगर लामा छन्। सुन ल्याउने भूमिका निर्वाह गरेका लामालाई प्रहरीले काठमाडौं महानगरपालिका–१५,किमडोलबाट पक्राउ गरेको हो।यसअघि नै यो प्रकरणमा तीन जना पक्राउ परेका छन्। एक चिनियाँ नागरिक र दुई जना नेपाली नागरिक मंगलबार पक्राउ परेका थिए। योसँगै यो प्रकरणमा दुई चिनियाँ र दुई नेपाली गरी चार जना पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो। सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले तासी भनिने चिनियाँ नागरिक ग्याङ रोउ तथा नेपाली नागरिकहरु लालबहादुर तामाङ र ६५ वर्षीय सनथ प्रधान पक्राउ परेको बताए।

पछिल्लो समय दोलखाको विभिन्न ठाउँबाट ठूलो परिमाणमा सुन बरामद हुँदै आएको छ। आइतबार दिउँसो मात्रै प्रहरीले विगु गाउँपालिका–१ लामाबगरबाट बारीमा ढुंगाले थिचेर लुकाएको अवस्थामा ४ किलो सुन बरामद गरेको थियो।

एक साताको अवधिमा दोलखाबाट प्रहरीले ११ किलो बरामद गरेको छ। सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले यसअघि नै २ जनालाई पक्राउ गरेको थियो। दोलखाको विगु गाउँपालिका–१ लामाबगरकाका ३० वर्षीय चसमान तामाङ र सोही ठाउँका २७ वर्षीय राज तामाङलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार चीनसँग जोडिएको दोलखाको फलेक नाका हुँदै सुन तस्करी बढेको छ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको तस्करी विमानस्थलमा भएको कडाइले ‘ब्रेक’ भएपछि चीनको रोङजिया नाकाबाट दोलखाको फलेक हुँदै तस्करी बढेको प्रहरीको भनाइ छ।

उता,भेपमा सुन ल्याएको अभियोगमा थप एकजना पक्राउ परेका छन्। उक्त प्रकरणमा दावा जिनका सवारी चालक लोकेन्द्र कुमार पौडेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो।

सयुक्त अरब इमिरेट्स यूएइबाट गत पुसमा इलेक्ट्रिक सिगरेट (भेप) मा ९ किलो सुन तस्करी भएको थियो। चिनियाँ नागरिक दावा जिन वाङले ल्याएको पैठारीको सुन भन्सारले रोकेको थियो।सोही प्रकरणमा गत भदौ १३ गते माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई पक्राउ गरेर सीआईबीले अनुसन्धान गरिरहेको छ।

उक्त प्रकरणमा सोमबार माओवादी उपाध्यक्ष महरासँग पनि सीआईबीले बयान कागज गराएको छ। सो काण्डमा भन्सारका कर्मचारीसहित ५ जना पुर्पक्षका लागि कारागारमा छन्।

प्रतिक्रिया दिनुहोस्