सामाजिक सञ्जालबाट सद्भावमा खलल पुग्ने सामग्री प्रचारप्रसार नगर्न बाँके प्रशासनको आग्रह



नेपालगञ्ज।जिल्ला प्रशासन कार्यालय बांकेले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट धार्मिक तथा सामाजिक सद्‌भावमा खलल पुग्ने कुनै किसिमको सामग्री प्रचारप्रसार नगर्न तथा नगराउन अनुरोध गरेको छ।

बाँकेका प्रशासनले बुधबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन्। विज्ञप्तिमा राजनीतिक दल,धार्मिक अगुवा,नागरिक समाज,आमनागरिकलाई आआफ्ना क्षेत्रबाट शान्ति स्थापनामा सहयोग गर्न पनि आग्रह गरिएको छ।

हिन्दु र मुस्लिम समुदायबीछ उत्पन्न बिबादका कारण भिडन्तको अवस्था उत्पन्न भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि लागू भएको निषेधाज्ञा भने बुधबार पनि यथावत् छ।

जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत विष्णु साहनीले बुधबार प्रेस विज्ञप्ति जारी गरी निषेधाज्ञाका क्रममा भएको झडपमा पाँच सुरक्षाकर्मी र १७ सर्वसाधारण सहित २२ जना घाइते भएका जनाएका छन्। उनीहरूमध्ये २१ जना उपचारपछि घर फर्केको र एक जनाको भेरी अस्पतालमा उपचार भइरहेको जनाइएएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले सबै पक्षसँग संवादका लागि प्रक्रिया थालिएको बताए। जनजीवन सामान्य अवस्थामा फर्काउन राजनीतिक दल, धार्मिक संस्थाका प्रमुख, नागरिक समाजका अगुवासँग छलफल गरिन लागेको आचार्यको भनाइ छ।निषेधाज्ञामा भने कडाइ गरिएको छ।

भारतबाट जमुनाहा नाका हुँदै नेपाल आउने नागरिकलाई गन्तव्यसम्म पुर्‍याउन थालिएको छ।प्रहरी चौकी जमुनाहाका वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर विष्टले अहिलेसम्म एक हजार ५०० नेपालीलाई गन्तव्यमा पुर्‍याइएको बताए। भारतको सिम्ला, कालापहाड, दिल्ली लगायत ठाउँबाट दशैं मनाउन घर फर्केका नागरिकलाई राँझाचोकसम्म पुर्‍याइएको र त्यहाँबाट उनीहरू आफैं गन्तव्यतर्फ लागिरहेको विष्टको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्