तिङलामा वडाको प्रशासनिक भवन उद्घाटन,नागरिकलाई बिना झन्झट सेवा प्रवाह गर्न मेयर शेर्पाको निर्देशन
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिका वडा नं-११ तिङलाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रबाह गर्ने भएको छ।

तिङलामा निर्माण गरिएको वडा कार्यालयको प्रशासनिक भवन उद्घाटन गरिएसंगै स्थानीयलाई अब नयाँ भवन सेवा प्रबाह गर्न लागिएको हो।नवनिर्मित प्रशासनिक भवनको जिल्ला समन्वय समितिका प्रमुख कृष्णप्रसाद निरौला र नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बिहिवार संयुक्त रूपमा उद्घाटन गरेका हुन्।भवनमा प्रशासनिक कक्षहरुदेखि सेवाग्राहीका लागि प्रतीक्षालयसम्मको ब्यबस्था रहेको सो वडाले जनाएको छ।१ करोडको ठेक्का भएपनि घटाघटमा ५७ लाखमा सो भवन निर्माण सम्पन्न भएको बताईएको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शेर्पाले कम लागतमा गुणस्तरीय भवन निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नवनिर्मित भवनबाट छिटोछरितो ढंगले बिना झन्झट नागरिकहरुलाई सेवा प्रदान गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई निर्देशन दिए।
शिक्षा, सडक, विद्युत र कृषिमा उल्लेख्य काम भएपनि स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण काम गर्न बाँकी रहेको बताउंँदै नगरप्रमुख शेर्पाले योजनाबद्द ढंगले बांकी काम पनि आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
विकास निर्माणका काममा सहकार्य गर्न आफु सदैव तत्पर रहेको नगरप्रमुख शेर्पाको भनाई थियो।उनले विकास निर्माणको सवालमा नेतृत्वलाई सचेत गराउन पनि वडाबासीलाई आग्रह गरे ।
भवन उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलासहित सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर गान्धीमाया तामाङ, वडाअध्यक्ष तथा जनप्रतिनिधि, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।

