देशभर बिबिध कार्यक्रम गरी आज पर्यटन दिवस मनाईंदै
काठमाडौं।आज बिबिध कार्यक्रमको आयोजना गरी ४४औँ विश्व पर्यटन दिवस देशभर मनाईदैंछ। हरेक वर्ष सेप्टेम्बर २७ तारिखका दिन नेपालमा पनि यो दिवस मनाउँने गरिएको छ।

पर्यटन दिवस भव्य रूपमा मनाउन पर्यटन मन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको छ । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ ।
दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग सरोकारवाला निकायले समन्वयका साथ विभिन्न कार्यक्रमका साथ दिवस मनाउन लागिएको हो। दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
दिवसका अवसरमा बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट आउने विदेशी पर्यटकलाई पर्यटन मन्त्रीले स्वागत गर्नुका साथै साढे ७ बजे ललितपुरको पाटन ढोकादेखि मङ्गल बजारसम्म प्रभात फेरि गरिएको छ। पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्त रूपमा पाटन दरबार क्षेत्रमा आयोजना हुने औपचारिक कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम छ ।
पर्यटन दिवसलाई भव्य र प्रभावकारी रूपमा मनाउन प्रदेश र स्थानीय तहलाई पनि पत्राचार गरिएको मन्त्रालयको भनाई छ । विगतमा ठमेलबाट प्रभात फेरी गरेर भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा औपचारिक कार्यक्रम हुने गरेकामा यो वर्ष ललितपुरमा पर्यटन दिवस मनाउन लागिएको हो । कार्यक्रममा पर्यटन मन्त्रालय, मातहत निकाय तथा पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवं प्रतिनिधिको सहभागितामा हुनेछ ।
‘सबैका लागि पर्यटन: पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ । दिवसकै अवसरमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा ) ले सोमबार रक्तदान कार्यक्रम गरेको छ । दिवसलाई भव्य रूपमा मनाउन पर्यटन क्षेत्रका सरोकारवाला संस्थाको सहकार्यमा अन्य कार्यक्रम पनि हुने अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।
नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले दिवसका अवसरमा गरिने कार्यक्रमले मुलुकको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । उहाँका अनुसार सङ्घको अगुवाइमा आज पोखरामा विशेष कार्यक्रम गरिदैँछ।
कोभिड–१९ (कोरोना भाइरस) महामारीबाट करिब तीन वर्ष शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र करिब पुरानै लयमा फर्किएको छ । बोर्डका अनुसार सन् २०२३ भित्र नेपालको पर्यटन पुनरुत्थान हुनेछ । विश्व पर्यटन सङ्गठनले पनि सन् २०२३ सम्म नेपालको पर्यटन पुनरुत्थान हुने प्रक्षेपण गरेको छ । विश्वव्यापी रूपमा नेपालसहित ९५ प्रतिशतसम्म पुनरुत्थान हुने प्रक्षेपण गरिएको छ ।
पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को आठ महिनामा छ लाख एक हजार तीन सय ६० पर्यटक नेपाल आएका छन् । अघिल्लो वर्ष एक लाख ४० हजार तीन सय पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२१ मा ५५ हजार चार सय ४७ पर्यटक नेपाल आएका थिए । सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख २० हजार ८५ मात्र छ । सन् २०१९ मा हालसम्मकै बढी ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।

