सूर्यको अनुसन्धान गर्न भोलि अन्तरिक्षमा यान पठाउँदै भारत



एजेन्सी।चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने पहिलो देश बन्न सफल भएको एक हप्तापछि भारतले सूर्यको अनुसन्धान गर्न अन्तरिक्ष यान पठाउन तयार भएको छ ।

भोलि शनिवार स्थानीय समयअनुसार बिहान ११ बजेर ५० मिनेटमा आदित्य एल–१ यान अन्तरिक्षमा पठाउने भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले जनाएको छ । भारतको चेन्नईबाट एक सय किलोमिटर उत्तरमा पर्ने श्रीहरिकोटमा रहेको अन्तरिक्ष यान प्रक्षेपणस्थलबाट यानलाई अन्तरिक्षमा पठाइने इसरोले जनाएको छ ।

अन्तरिक्षमा पठाइने यान सूर्यमा पुग्ने नभई पृथ्वीबाट १५ लाख किलोमिटर टाढा पुग्नेछ । त्यो दूरी पृथ्वी र चन्द्रमा बीचको दूरीभन्दा झन्डै चार गुणाले बढी हो । तर त्यो पृथ्वीबाट सूर्यसँगको दूरीको चाहिँ एक प्रतिशत मात्रै हो । सूर्य पृथ्वीबाट १५ दशमलव एक लाख किलोमिटर टाढा छ । यान पुग्ने भनिएको ठाउँबाट सूर्यलाई निरन्तर रूपमा स्पष्ट देखिने इसरोले जनाएको छ ।

अभियानले अन्तरिक्षको मौसम केले सञ्चालन गर्छ भन्नेबारे अध्ययन गर्नेछ । यानले सौर्य आँधीको प्रक्रियाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ । एक पटक स्थापित भइसकेपछि यो अन्तरिक्ष यानले सूर्यलाई निरन्तर स्पष्ट रूपमा अवलोकन गरिरहन सक्नेछ ।

यो अन्तरिक्ष यान पाँच वर्षभन्दा बढी समयका लागि अन्तरिक्षमा रहने गरी बनाइएको इसरोले जनाएको छ । भारतीय सरकारले सन् २०१९ मा यो परियोजनालाई स्वीकृत गरेको थियो । यसको लागत झन्डै चार करोड ६० लाख डलर लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्