आजबाट सर्बोच्च अदालतको नेतृत्व सम्हाल्दै श्रेष्ठ
काठमाडौं।संबैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठले आजदेखि न्यायपालिकाको नेतृत्व सम्हाल्ने भएका छन्।यसअघि प्रधानन्यायाधीश रहेका हरिकृष्ण कार्की ६५ वर्षे उमेहदका कारण साउन २० गते (शनिबार)देखि अनिवार्य अवकाशमा गएका कारण वरिष्ठतम् न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने भएका हुन्।

नेपालको ३१औं प्रधानन्यायाधीशमा नियुक्तिका लागि श्रेष्ठको नै नाम सिफारिस भएको छ। यद्यपि संवैधानिक परिषद्ले गरेको ढिलाइका कारण उनले केही समय कामु प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व सम्हाल्नुपर्ने भएको छ।
संवैधानिक परिषद्ले संवैधानिक व्यवस्था कार्यान्वयन गरेको भए श्रेष्ठ आइतबारदेखि नै प्रधानन्यायाधीशको जिम्मेवारीमा हुने थिए। प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा १ महिना अघि नै सिफारिस हुनुपर्ने संवैधानिक व्यवस्था छ। परिषद्ले समयमा सिफारिसको निर्णय नगर्दा अबको केही साता न्यायपालिका फेरि पनि कामुको नेतृत्वमा चल्ने छ।
श्रेष्ठसम्म आइपुग्दा न्यायपालिका लगातार तेस्रोपटक कामुको नेतृत्वमा सञ्चालन हुन लागेको हो। यसअघि दीपककुमार कार्की र हरिकृष्ण कार्कीले लामो समय कामु प्रधानन्यायाधीशको रुपमा न्यायपालिकाको नेतृत्व गरे।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध २०७८ फागुन १ गते संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि न्यायपालिका कामुको भरमा चल्न थालेको थियो।
राणाको महाभियोगलाई संसद्ले समयमै नटुंग्याउँदा दीपककुमार कार्कीले कामु रहेकै समयमा अवकाश पाए। राणाको अवकाश उमेर पुगेपछि हरिकृष्ण कार्की स्वत: कामु प्रधानन्यायाधीश भएका थिए। तर संवैधानिक परिषद्ले उनको नाम पनि सिफारिस गरेन। जसकारण हरिकृष्ण कार्कीले ८ महिना कामुकै रुपमा न्यायपालिकाको नेतृत्व गरे।
अबकाशमा जानलाई करिब ५० दिन बाँकी रहेको अवस्थामा उनी प्रधानन्यायाधीशमा सिफारिस भए। संवैधानिक सुनुवाइको प्रक्रिया पूरा गरी प्रधानन्यायाधीश नियुक्त भएपछि करिब १७ दिन पूर्ण रुपमा काम गरी कार्की न्यायपालिकाबाट बिदा भए।
आजबाट सर्बोच्चको नेतृत्व सम्हालेका श्रेष्ठ सर्वोच्चमा आउनुअघि उच्च अदालत हेटौंडामा मुख्य न्यायाधीश थिए। २०१६ साल असोज २० गते सुदूरपश्चिमको सिलगढी, डोटीमा जन्मेका हुन्। डोटीबाट बसाइँ सरेर कैलाली, धनगढी आएका थिए। २०३८ साल चैत २७ गते उनी कानुन मन्त्रालयमा शाखा अधिकृतमा नियुक्त भएका थिए। २०४१ साल पुस ११ गते उनी सुदूरपश्चिम क्षेत्रीय अदालतमा शाखा अधिकृतका रूपमा कार्य गरेका थिए। २०४४ सालमा उनी उपसचिवमा पदोन्नति भएका थिए। २०४५ जेठ ३ गते जिल्ला अदालत दार्चुलामा न्यायाधीशका रूपमा कार्य गरे।
त्यसपछि जिल्ला अदालत डडेल्धुरा र न्याय सेवा तालिम केन्द्रमा कार्य गरे। २०४९ चैत १ गते सर्वोच्च अदालतमा डेपुटी रजिस्ट्रारका रूपमा कार्य गरेको अनुभव छ। त्यसपछि उनी लामो समयसम्म काठमाडौं उपत्यका बाहिर विभिन्न जिल्लामा जिल्ला न्यायाधीशका रूपमा न्याय सम्पादन गरेका थिए। उदयपुर, मकवानपुर, झापा र बाँके जिल्लामा झन्डै ८ वर्ष न्याय सम्पादन गरेका थिए।
काठमाडौं जिल्ला अदालतमा रहेरसमेत न्याय सम्पादन गरेका श्रेष्ठले उच्च अदालत बागलुङमा न्यायाधीशका रूपमा सेवा गरे। उच्च अदालत पाटन, पोखरामा न्यायाधीशका रूपमा कार्य गरेका श्रेष्ठले सर्वोच्चमा आउनुअघि तत्कालीन पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश थिए।

