माओवादी केन्द्रमा सात लाख बढी कार्यकर्ता !
काठमाडौ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय कमिटीमा २४ महिला थप गर्ने प्रस्ताव गरेका छन्।

प्रज्ञा भवन कमलादीमा आजदेखि सुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको सांगठनिक प्रतिवेदनमा उक्त प्रस्ताव उल्लेख छ।
माओवादी केन्द्रमा हाल ३८५ केन्द्रीय सदस्य छन्। केन्द्रीय कमिटीमा २४ जना महिला थप गरी त्यसको आकार ४०९ सदस्यीय पुर्याउन प्रचण्डले प्रस्ताव गरेका हुन्।यसअघि ०७८ पुसमा सम्पन्न पार्टीको नवौं महाधिवेशनले केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्याउने निर्णय गरेको थियो। तर हालसम्म पनि उक्त निर्णय कार्यान्वयन भएको छैन।
निर्वाचन आयोगमा दलका सदस्यहरूको विवरण बुझाइहाल्नुपर्ने भएकाले माओवादीलाई तत्काल केन्द्रीय कमिटीमा ३५ प्रतिशत महिला पुर्याउनुपर्ने बाध्यता छ।त्यसका लागि २४ जना महिला थप्ने प्रस्ताव अध्यक्ष प्रचण्डले सांगठनिक प्रतिवेदनमा गरेका हुन्।
उनको प्रस्ताव कार्यान्वयन हुन केन्द्रीय कमिटीबाट अनुमोदन हुनुपर्नेछ।प्रचण्डले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ जना माओवादी कार्यकर्ता रहेको उल्लेख समेत गरेका छन्।
जसअनुसार सबैभन्दा धेरै माओवादी कार्यकर्ता बागमती प्रदेशमा छन्। बागमतीमा १ लाख ४७ हजार ५५३, मधेशमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिहरूमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता छन्।
प्रचण्डले सबै जातीय मोर्चाले आफ्नो समुदायको जनसंख्या कम्तीमा १० प्रतिशतलाई संगठित गर्नुपर्ने प्रस्ताव गरेका छन्।

