शंकरदेवमा गुण्डागर्दी र अराजकताको अन्त्य गर्ने अनेरास्वबियुकी सभापति उम्मेदवार तिवारीको प्रतिबद्धता
काठमाडौं । काठमाडौंको शंकर देव क्याम्पसमा नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सभापतिको उम्मेदवार बनेकी मुना तिवारीले आफू र आफ्नो संगठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन जिते क्याम्पसमा हुँदै आएको गुण्डागर्दी र अराजकताको अन्त्य गर्ने बताएकी छिन् ।

शनिबार उम्मेदवारी दर्ता भएपछि क्याम्पसमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले अनेरास्ववियुले क्याम्पसमा उठाउँदै आएका माग जायज भएकाले आफू र आफ्नो प्यानललाई मतदान गर्न उनले आग्रह गरिन् । ‘हामी गुण्डागर्दी र अराजकताको विरुद्धमा कलम चलाउँदै आएका छौं र भोलि पनि खवरदारी गर्ने छौं’ उनले थपिन् ‘हिजो कुन संगठनले प्राध्यापकलाई कालो मोसो दल्छु भन्यो र प्राध्यापकलाई क्याम्पस हाताभित्रै झम्टिएर कुटुला झैं गर्यो त्यो त तपाइहरुलाई थाहा नै होला ।’ उनले क्याम्पसमा ताला लगाउने झुण्डहरु पराजित भइसकेको बताइन् । उनले आफूहरुसँग क्याम्पसलाई राम्रो बनाउने दूरगामी योजना भएकोमा जोड दिइन् ।
‘शंकर देव क्याम्पस पढेका विद्यार्थीलाई जागिर दिन अब हारालुछ हुन्छ, त्यस्तो क्याम्पस हामी बनाउँछौं’ उनले भनिन् ‘हामी स्ववियुमा आएपछि हरेक कक्षाकक्षा पुगेर विद्यार्थीका गुनासा टिप्छौं र सम्बोधनका लागि पहल गर्छौै ।’ उनले शंकर देव क्याम्पसलाई महिलामैत्री र अपांगतामैत्री बनाउने पनि बताएकी छिन् ।
झापा घर भएकी सभापतिकी उम्मेदवार उनले आफू लामो समयदेखि क्याम्पसमा अध्ययन गर्दैै आएकाले क्याम्पसका समस्या र सम्भावनाबारे पनि आफूलाई थाहा भएको बताइन् । उनले क्याम्पसलाई देशकै सर्वोत्कृष्ठ क्याम्पस बनाउने जनाइन् । उनले पटक पटक अरु संगठनले स्ववियुको निर्वाचन जिते पनि विद्यार्थीका पक्षमा काम नगरेको समेत आरोप लगाइन् ।

