राप्रपा सरकारबाट बाहिरियो, एमालेले २५ गतेसम्म कुर्ने



काठमाडौं।पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी राप्रपा सरकारबाट बाहिरीएको छ।

शनिबार दिउँसो बालुवाटार पुगेर उनीहरुले राजीनामा बुझाएसंगै राप्रपा सरकारबाट बाहिरिएको हो ।
सरकारमा राप्रपाका तर्फबाट ऊर्जामा राजेन्द्र लिङ्देन, सहरी विकासमा विक्रम पाण्डे, कानुन मन्त्रीमा ध्रुबबहादुर प्रधान र सिंचाई राज्यमन्त्रीमा दीपक सिंह रहेका थिए ।

फागुन २५ गते हुने निर्बाचनमा सरकारको नेतृत्व गरिरहेको नेकपा माओबादी केन्द्रले गठबन्धन तोड्दै राष्ट्रपतिमा कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेपछि राप्रपाको आज बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

उता,एमालेको शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन यथावत् नै राख्ने निर्णय गरेको हो।

बैठकले २५ गतेसम्म सरकारलाई दिएको समर्थन यथावत् राख्ने र सरकारबाट नबाहिरिने निर्णय गरेको उपमहासचिव पृथ्वीसूब्ब गुरुङले जानकारी दिए। उनले पुस १० गतेको सहमति कायम नै रहेको जानकारी दिए।

‘पुस १० गतेको निर्णयअनुसार अगाडि बढ्छौं। सोही अनुसार राष्ट्रपति चयन गर्नुपर्छ। कांग्रेससहितका दलहरुलाई सहमतिमा ल्याउन प्रयास गर्छौं,’ उनले भने।

उपमहासचिव गुरुङले आठ दलीय गठबन्धन नबनेको दाबी गर्दै पुस २५ गतेसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए।

प्रतिक्रिया दिनुहोस्