बनबाट सुरु भएको आगोले तेह्रथुमको चुहानडाँडामा १० घर जले,अझै नियन्त्रणमा आएन आगो
विराटनगर । तेह्रथुमको आठराई गाउँपालिकाको चुहानडाँडामा भीषण आगलागी भएको छ । आठराई वडा नम्बर ६ मा अपराह्न सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

हालसम्म कम्तीमा १० वटा घर जलेर नष्ट भएको स्थानीय तथा घटनास्थल नजिकै रहेका तेह्रथुमका पत्रकार अमृत बास्तोलाले जानकारी दिए।स्थानीय र चुहानडाँडा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले आगो निभाउन खटिएको तर आगलागी अझै नियन्त्रणमा आउन नसकेको बास्तोलाले बताए । फक्चुवाखोला दोभान नजिकैको माझीटार सामुदायिक वनबाट सुरु भएको आगलागी हात्तीखर्क गाउँतर्फ सल्किएको बताइएको छ ।
आठराई ६ का वडाध्यक्ष कृष्ण बास्कोटाले सुख्खा मौसम र पानी अभावका कारण आगो निभाउन कठिनाइ भइरहेको बताए । उनले भने, “सुख्खा मौसम जंगलको पत्कर अनि हावाको बहावका कारण आगो तीव्र गतिमा फैलिएको छ ।”
आगलागीबाट ठूलो क्षति भएको अनुमान गरिएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल दाहालले भने, “प्रहरी टोली आफैँ आगलागी नियन्त्रणमा खटिएकाले के–के क्षति भयो र क–कसका घर जले भन्ने सम्पूर्ण जानकारी आइसकेको छैन ।”(सांकेतिक तस्बिर)

