स्थानीय तह शिक्षा योजना निर्माणमा जुट्यो माप्यदुधकोशी



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। माप्यदुधकोशी गाउँपालिकाले स्थानीय तह शिक्षा योजना निर्माणमा लाग्ने लागतको ३० प्रतिशत खर्च ब्यहोर्ने भएको छ।

रीड नेपालको आयोजना तथा माप्यदुधकोशी गाउँपालिकाको समन्वयमा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा सोमबार सम्पन्न स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी वैठकले सो निर्णय गरेको हो। वैठकमा गाउँपालिका उपाध्यक्ष गौरव राई लगायत शिक्षा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

वैठकले फागुन २८ देखि ३० गतेसम्म योजना निर्माण कार्यशाला गोष्ठी संचालन गर्ने निर्णय गर्नुका साथै शिक्षा शाखा प्रमुख गजेन्द्र भट्टराईको संयोजकत्वमा १५ सदस्यीय योजना निर्माण समिति समेत गठन गरेको छ।समितिका सदस्यमा रीड नेपालबाट शिक्षा विकास सयोजक केशव गिरी, शिक्षा विकास अधिकृत सुजाता राई र विष्णु उपाध्याय लगायत पालिका शिक्षा समितिका सदस्य तथा प्रधानाध्यापक, शिक्षकहरुलाई समेटिएको जनाइएको छ।

कार्यक्रमको सहजीकरण रीड नेपालका अनुगमन तथा मुयांकन प्रबन्धक उपेन्द्रराज जोशी र शिक्षा विकास संयोजक केशवदेव गिरीले गर्नुभएको थियो।पालिका अध्यक्ष बुद्धिकिरण राईले कार्यक्रममा बोल्दै यो योजना निर्माण अति नै आवश्यक रहेको र रीडले यसमा सहयोग गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै योजना निर्माणले समग्र पालिकाको शैक्षिक सुधारमा टेवा पुग्ने विश्वास लिएको बताउनुभयो। कार्यक्रममा बोल्दै गाउँ पालिका उपाध्यक्ष गौरब राईले बैठक महत्त्वपूर्ण भएको यसले योजना निर्माणमा ठुलो महत्त्व राख्ने बताउदै योजना निर्माणका लागि सम्पूर्ण सहयोग गर्न पालिका तयार रहेको बताउनु भयो।

रीड नेपालले खुम्बुपासाङल्हामु बाहेक सोलुखुम्बुका ७ ओटै स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण गर्ने जनाएको छ ! हिजो मात्र यही प्रकृतिको बैठक थुलुङ दुधकोशी गाउँपालिकामा सम्पन्न भैसकेको रीड नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्