थुलुङ दुधकोशीमा पाँच वर्षे स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी बैठक सम्पन्न



खगिन्द्रराज बास्तोला।रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको सहकार्यमा ५ वर्षे स्थानीय तह शिक्षा क्षेत्र योजना निर्माण पूर्व तयारी बैठक गाउँ पालिकाको कार्यालय मुक्लीमा सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आज सम्पन्न बैठकमा रीड नेपालको तर्फबाट बैठकको प्रस्ताव तथा शैक्षिक योजनाको ढाँचा रीड नेपालका अनुगमन तथा मूल्यांकन प्रबन्धक उपेन्द्रराज जोशीले प्रस्तुत गर्नुभएको थियो। बैठकमा योजना निर्माणका लागि कार्याशाला गोष्ठीको मिति तय,सहभागी सूची निर्धारण, योजना तर्जुमा समिति निर्माण तथा कार्याशाला संचालनका लागि आवश्यक तथ्यांक संकलन गर्ने निर्णय गरिएको छ निर्माण समितिमा गाउँपालिका शिक्षा समिति, विद्यालय व्यबस्थापन समिति, शिक्षाप्रेमी, रीड नेपाललाई समावेश गरिएको छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले शिक्षा क्षेत्र आफ्नो विशेष प्राथमिकतामा रहेकोले यस योजनाले गाउँपालिकाको शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै योजना निर्माण कार्यशाला गोष्ठीमा सहभागी सबैलाई अनिवार्य र पूर्व तयारीका साथ आवश्यक सूचना र तथ्यांकसहित सहभागी हुन निर्देशन दिनुका साथै उत्कृष्ट योजना निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा गाउँपालिका उपाध्यक्ष सबिता राई लगाएत गाउँपालिका शिक्षा समिति,रीड नेपालका शिक्षा कार्यक्रम प्रबन्धक मुक्ति घिमिरे, शिक्षा विकास संयोजक केशव गिरी,शिक्षा विकास अधिकृत प्रेम रोकायाको उपस्थिति रहेको थियो ।

स्थानीय तह शिक्षा योजना निर्माण कार्यशाला गोष्ठी फागुन १४ देखि १६ मा संचालन गर्ने गाउँपालिकाले जनाएको छ। कार्यक्रममा रीड नेपालको सहजीकरण रीड नेपालका विषय विज्ञहरुबाट गरिनेछ।

कार्यशालामा गाउपालिका शिक्षा समिति, सबै वडाध्यक्ष, माविका सबै प्रधानाध्यापक, स्थानीय स्रोत शिक्षक, फोकल शिक्षक,विद्यालय व्यबस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, बालक्लब, अन्य सरोकारवाला, लगायतको उपस्थिति रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्