प्रतिनिधिसभामा केसीले भने,-‘बिदेशी शक्तिले नेपालमा प्रत्यक्ष हस्तक्षेप गर्न थाले’
काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले पहिले अप्रत्यक्ष रूपमा खेल्ने विदेशी शक्तिले अहिले प्रत्यक्ष हस्तक्षेप गर्न थालेको बताएका छन्।।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता बिर्सेर नेपालका राष्ट्र प्रमुखदेखि कार्यकारी प्रमुख र दलका नेताहरुका कारण यो स्थिति आएको दावी गरेका हुन्।उनले नेपाल भ्रमणमा आएर मंगलबार स्वदेश फर्किएका भारतीय विदेश सचिवको अगाडी उनीहरु लम्पसार परेको आरोप पनि लगाए।
‘नेपालको राष्ट्रप्रमुख, सरकार प्रमुखलगायत विभिन्न तहमा भेटघाट भयो । राष्ट्र सानो ठूलो हुन सक्छ । नेपालको तुलनामा भारत सबै विषयमा ठूलो छ । तर, सार्वभौमसत्ता र भौगोलिक अखण्डाले राष्ट्र सानो ठूलो हुँदैन, उनले भने, ‘नेपालबाट पूर्वप्रधानमन्त्रीहरु अथवा जिम्मेवार मन्त्रीहरु जाँदा भारतीय शासकहरुलाई भेट्नै सक्दैनन् । निराश भएर फर्किनु पर्छ । छिमेकका प्रमुखहरु आउँदा विदेशीको अगाडी किन लम्पसार परेको ? राष्ट्रिय स्वभिमानको बारेमा अलिकति पनि लाज लाग्दैन ?’
साथै, सांसद केसीले राष्ट्रपतिको चुनाव नजिकिएको अवस्थामा स्वार्थकेन्द्रित विदेशी हस्तक्षेप पनि बढेको बताए । उनले भने,-‘राष्ट्रपति बनाउन शक्ति राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रुपमा हुने गर्थ्यो । अहिले प्रत्यक्ष रुपमा खेल खेलिरहेका छन् । हामीलाई लाज लाग्दैन विदेशी शक्ति राष्ट्रहरुको प्रमुख लम्पसार परेर दुनो सोझ्याउने काम गर्दा ?’ (फाइल फोटो)

