समर्थनलाई निरन्तरता दिंदै सरकारबाट बाहिरियो रास्वपा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आइतबार बसेको पार्टी केन्द्रीय समिति तथा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिंदै सरकारबाट भने बाहिरिने निर्णय गरेको हो। नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेका थिए।
सरकारबाट बाहिरिने निर्णयपछि रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशीर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की पनि फिर्ता हुने भएका छन्। मन्त्रीद्वय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

