आत्मदाह गरेका आचार्यले उठाएका बिषय छानबिन गर्न समिति गठन



काठमाडौं। मंगलबार आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले मृत्युअघि उठाएका विषयबारे छानविन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

गृहले मन्त्रालयका सहसचिव नारायणप्रसाद रिमालको संयोजकत्वमा ६ सदस्यीय छानविन समिति गठन गरेको हो । बुधबारको मन्त्रिपरिषद् बैठकले यसबारे समिति बनाएर छानविन गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको थियो ।

समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीका प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने भएका छन् ।नयाँबानेश्वरस्थित संसद भवन अगाडी आत्मदाह गरेका आचार्यको बुधबार बिहान कीर्तिपुरको बर्न अस्पतालमा निधन भएको थियो।

उता,आत्मदाह अघि आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ ।

इलाम सूर्योदय नगरपालिका-११ का आचार्यले मंगलबार आत्मदह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । उनले स्टाटसमा नाम उल्लेख गरेका व्यक्ति र संस्था विरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो ।

आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध अधिवक्ता स्वागत नेपालले काठमाडौं प्रहरी परिसरमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन् । फेसबुक स्टाटसमा आचार्यले ठूला व्यापारिक संस्थान, घरानाका कारण आफू आर्थिक रुपमा डुबेको स्टाटसमा आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्