आज वसन्तपञ्चमी : शिक्षा र ज्ञानकी आराध्य देवी सरस्वतीको पूजाअर्चना गरी मनाइँदै



काठमाडौं। आज श्रीपन्चमी अर्थात वसन्तपञ्चमी शिक्षा र ज्ञानकी आराध्य देवी सरस्वतीको पूजाअर्चना गरी मनाइँदैछ।

माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा गरिन्छ।काठमाडौँको वसन्तपुरमा रहेको हनुमानढोकाभित्रको नासलचोकमा राष्ट्र प्रमुखको उपस्थितिमा वसन्त श्रवणको आयोजना गर्नुका साथै विभिन्न स्थानमा रहेका सरस्वतीका मन्दिरमा पूजाअर्चना गर्ने गरिन्छ। यस दिन ललितपुरको लेलेमा रहेको सरस्वतीकुण्ड, काठमाडौँको नील सरस्वती मन्दिर र भक्तपुरको सरस्वती खेलमा रहेको सरस्वतीको मन्दिरमा विशेष मेला लाग्ने गर्छ।

यस दिनलाई अत्यन्तै शुभ दिन मानिने हुनाले विभिन्न धार्मिक अनुष्ठान बिहे, व्रतबन्ध, पास्नीलगायतका शुभकार्यका लागि साइत जुराइरहनु नपर्ने मान्यता छ। त्यस्तै बालबालिकालाई अक्षरारम्भ गर्न, नाक, कान छेड्न पनि यसै दिनलाई उपयुक्त साइत मानिने गरिन्छ।

यसैबीच,प्रत्येक वर्ष जस्तै आज पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्